Nepal Newsbox
२०८३ वैशाख ७ गते , सोमबार
Nepal Newsbox
जाजरकोटमा जिप दुर्घटना, दुई जनाकाे मृत्यु
काठमाडौँ । जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन् ।
छेडागाड नगरपालिका वडा नं. ९ पजारुबाट थलहतर्फ जाँदै गरेको क.प्र. ०२–००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो जिप शुक्रबर बिहान ११ बजे छेडागाड नगरपालिका वडा नम्बर ८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको हो । गुडिरहेको जिपको ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा छेडागाड नगरपालिका वडा नम्बर ९ पजारु निवासी ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारी रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय वडाबनले जानकारी दिएको छ ।
जिपमा ६ जना सवार रहेकोमा अन्य चार जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा चालक छेडागाड–९ बस्ने २४ वर्षीय कृष्ण अधिकारी (टाउको र दुवै हातमा चोट),छेडागाड–८ बस्ने २० वर्षीया लक्ष्मी खत्री (टाउको र अनुहारमा चोट),छेडागाड–९ बस्ने ३९ वर्षीय वीर बहादुर अधिकारी (टाउको र बायाँ खुट्टामा चोट) र दैलेख नौमुले गाउँपालिका–६ बस्ने २३ वर्षीया सितला रावत (टाउकोमा चोट) रहेका छन् ।
घाइते सबैको अवस्था मध्यम रहेको र उनीहरूलाई स्थानीयको सहयोगमा उपचारका लागि नगर अस्पताल वडाबन पठाइएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय वडाबनबाट प्रहरी नायब निरीक्षक ओपेन्द्र बहादुर शाहीको नेतृत्वमा ५ जनाको टोली र जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक एक्क बहादुर नेपालीको कमाण्डमा ८ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय वडाबनबाट ५ किलोमिटर र जिल्ला सदरमुकामबाट ६८ किलोमिटरको दूरीमा पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।