Nepal Newsbox
२०८३ वैशाख १ गते , मंगलबार
Nepal Newsbox
क्रिसमसको कथाले भन्छ: परमेश्वर आफैँ मानिस कहाँ संसारमा आउनुभयो
क्रिसमसको कथा भन्छ: परमेश्वर आफैँ मानिस कहाँ संसारमा आउनुभयो
– रमेश्वर यादव
क्रिसमसले एउटा गहिरो सत्य प्रकट गर्छ —परमेश्वर मानिस कहाँ संसारमा आउनुभयो। उहाँ मानिसको लागि आउनुभयो ।
साथै हामी सुसमाचारका पुस्तकहरू पढदै गर्दा हामी येशू ख्रीष्टको अर्को एउटा सुन्दर र पूर्ण चित्र देख्छौँ—उहाँ को हुनुहुन्छ, उहाँ किन आउनुभयो, र उहाँको आगमनले आज हाम्रो जीवनमा के अर्थ राख्छ।
१्र. परमेश्वर हाम्रो साथमा – ख्रीष्टमा पूरा भएको प्रतिज्ञा (मत्ती 1:23)
मत्ती सुसमाचारअनुसार येशूको जन्म कुनै संयोग वा आकस्मिक घटना थिएन। यो परमेश्वरको लामो समयदेखि गरिएको प्रतिज्ञाको पूरा हुनु थियो।
“उहाँको नाम इम्मानुएल राखिनेछ,” जसको अर्थ हो—परमेश्वर हाम्रो साथमा।
यसको अर्थ के हो भने येशूमा परमेश्वर टाढा बस्नुभएन। उहाँ हाम्रो संसारमा प्रवेश गर्नुभयो। उहाँ मानव इतिहासमा आउनुभयो। हामी दुःख, डर र कमजोर अवस्थामा रहदा पनि उहाँ हाम्रो नजिकमा आउनुभयो।
विश्वासीहरूका लागि यो कुरा अत्यन्तै महत्वपूर्ण छ।
ख्रीष्टियन विश्वास भनेको मानिसहरूले परमेश्वरसम्म पुग्न खोज्नु होइन;
यो त परमेश्वर आफैँ मानिससम्म आइपुग्नु हो।
क्रिसमसमा हामी यही सत्य मनाउँछौँ। जब तपाईं एक्लो महसुस गर्नुहुन्छ, परमेश्वर तपाईंको साथमा हुनुहुन्छ। जब जीवन अन्योलपूर्ण हुन्छ, उहाँले तपाईंलाई छोड्नुभएको छैन। जब पापले मानिस र परमेश्वरबीच दूरी बनाउँछ, परमेश्वर आफैँ नजिक आउनुहुन्छ पुनःस्थापनाका लागि।
क्रिसमसको सन्देशले घोषणा गर्छ: परमेश्वरले तपाईं बिर्सिनु भएको छैन।
२. सेवा गर्ने परमेश्वर – ख्रीष्टको मिशन (मार्कुस 10:45)
मार्कुस सुसमाचारले येशूबारे एउटा आश्चर्यजनक सत्य देखाउँछ। यद्यपि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ, उहाँ राजा जस्तै सेवा लिन आउनुभएन।
“मानिसको पुत्र सेवा लिन होइन, सेवा गर्न र धेरैको निम्ति आफ्नो प्राण मोलस्वरूप दिन आउनुभएको हो।”
येशूले बिरामीहरूलाई सेवा गर्नुभयो, गरिबहरूलाई अँगाल्नुभयो, तिरस्कृतहरूलाई स्वीकार गर्नुभयो। उहाँले चेलाहरूलाई धिरजसाथ सिकाउनु भयो। कुष्ठरोगीलाई छुनुभयो। पापीहरूको निम्ति मर्नुभयो।
तर उहाँको सबैभन्दा ठूलो सेवा यो थियो—
उहाँले धेरैको निम्ति आफ्नो जीवन बलिदान गर्नुभयो।
क्रिसमसले हामीलाई क्रूसतर्फ लैजान्छ। ख्रीष्ट गोठमा जन्मिनुभयो, हाम्रो पापका लागि मर्नुभयो। उहाँले आफ्नो जीवन दिनुभयो ताकि हामी जीवन पाउन र स्वतन्त्र हुन सकौँ।
विश्वासीहरूका लागि यसको अर्थ स्पष्ट छ।
- येशूले दुःख बुझ्नुहुन्छ।
- येशूले नम्रताको बाटो रोज्नुभयो।
- येशूले हामीले तिर्न नसक्ने मूल्य तिर्नुभयो।
क्रिसमसले हामीलाई सेवा गर्ने मुक्तिदाताको हृदयलाई देखाउँछ।
३. खोज्ने परमेश्वर – सबैका लागि उद्धारकर्ता (लूका 19:10)
लूकाले ख्रीष्टले कस्ता मानिसहरूमाथि ध्यान केन्द्रित गर्नुभएको थियो भन्ने सत्यलाई बताउँछ। यी ती मानिसहरू थिए, हसलाई प्रायः समाजले बेवास्ता गरेका थिए—कर उठाउनेहरू, पापीहरू, गरिबहरू र बाहिर राखिएका मानिसहरू।
“मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आउनुभएको हो।”
येशूले हराएकाहरू उहाँकहाँ आउने प्रतिक्षा गर्नुभएन। उहाँ आफैँ खोज्न जानुभयो।
क्रिसमसमा परमेश्वर खोज्दै आउनुहुन्छ—
- टुटेका हृदय भएका मानिसहरूलाई,
- आत्मग्लानीमा बाँधिएका मानिसहरूलाई,
- आफू धेरै टाढा गइसकेको ठान्नेहरूलाई।
“हराएको” हुनुको अर्थ मूल्यहीन हुनु होइन। यसको अर्थ हो—मूल्यवान तर अलग भएको।
विश्वासीहरूका लागि यो सुसमाचार हो।
- तपाईंलाई परमेश्वरले देख्नु भएको छ।
- तपाईंलाई परमेश्वरले चाहनु भएको छ।
- तपाईंलाई परमेश्वरले प्रेम गर्नु भएको छ।
क्रिसमस भनेको परमेश्वरले भन्नु हो—“म तिमीका लागि आएको हुँ।”
४. परमेश्वर मानिस बन्नुभयो – अनन्त पुत्र (यूहन्ना 1:14)
यूहन्नाले हामीलाई अझ क्रिसमसको गहिराइमा लैजान्छ। उहाँ भन्छन् कि येशू केवल मानिस मात्र होइनन्, केवल शिक्षक मात्र होइनन्—उहाँ स्वयं परमेश्वर हुनुहुन्छ।
“वचन देहधारी हुनुभयो र हाम्रो बीचमा बस्नुभयो।”
परमेश्वरले सन्देश मात्र पठाउनुभएन। परमेश्वर आफैँ आउनुभयो।
येशू हाँस्नुभयो, रुनुभयो, सुत्नुभयो, काम गर्नुभयो, दुःख भोग्नुभयो र प्रेम गर्नुभयो। उहाँ पूर्ण रूपमा मानिस हुनुहुन्थ्यो, तर पूर्ण रूपमा परमेश्वर पनि हुनुहुन्थ्यो।
विश्वासीहरूका लागि यो सत्य अत्यन्तै अर्थपूर्ण छ।
- परमेश्वर तपाईंका संघर्षहरू बुझ्नुहुन्छ।
- परमेश्वर मानवीय पीडा जान्नुहुन्छ।
- परमेश्वर तपाईंको जीवनमा सहभागी हुनुहुन्छ।
क्रिसमस भनेको यही चमत्कार हो—परमेश्वर हाम्रो माझमा बस्न आउनुभयो।
५. निष्कर्ष
चारै सुसमाचारका सन्देशलाई सँगै राखौं, क्रिसमसले हामीलाई एउटा सुन्दर कथा सुनाउँछ।
मत्ती भन्छ: परमेश्वर हाम्रो साथमा हुनुहुन्छ।
मार्कुस भन्छ: परमेश्वरले हामीलाई सेवा गर्नुहुन्छ।
लूका भन्छ: परमेश्वरले हामीलाई खोज्नुहुन्छ।
यूहन्ना भन्छ: परमेश्वर हामीमध्ये एक बन्नुभयो।
यही हो येशू को हुनुहुन्छ।
- उहाँ प्रतिज्ञा गरिएको राजा हुनुहुन्छ।
- उहाँ सेवा गर्ने मुक्तिदाता हुनुहुन्छ।
- उहाँ खोज्ने गोठालो हुनुहुन्छ।
- उहाँ देहधारी अनन्त वचन हुनुहुन्छ।
६. आज हाम्रो लागि क्रिसमसको अर्थ
क्रिसमसले हामीलाई उत्तर पाउँन बोलाउँछ। परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ भन्ने विश्वास गर्नुहोस्। येशूले दिनुभएको उद्धार स्वीकार गर्नुहोस्। उहाँको नम्रता र सेवाको उदाहरण पछ्याउनुहोस्। र उहाँको प्रेम अरूहरूसँग बाँड्नुहोस्।
? क्रिसमस केवल एउटा जन्म सम्झिने समय मात्र होइन। यो ख्रीष्टलाई हाम्रो जीवन दिने समय हो।
परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ। परमेश्वर हामीलाई बचाउन आउनुभएको छ।