Nepal Newsbox
२०८३ वैशाख ३ गते , बिहीबार
Nepal Newsbox
जनजागरण पार्टी नेपाल र नेपाली कम्युनिस्ट पार्टी एकीकृत: केन्द्रीय अध्यक्ष Dr. BP Khanal को ऐतिहासिक वक्तव्य
जनजागरण पार्टी नेपाल र नेपाली कम्युनिस्ट पार्टी एकीकृत: केन्द्रीय अध्यक्ष Dr. BP Khanal को ऐतिहासिक वक्तव्य
काठमाडौं । जनजागरण पार्टी नेपाल र नेपाली कम्युनिस्ट पार्टीबीच भएको ऐतिहासिक एकीकरण सार्वजनिक कार्यक्रममा जनजागरण पार्टीका केन्द्रीय अध्यक्ष Dr. BP Khanal ले भावनात्मक र राजनीतिक दृष्टिले महत्वपूर्ण वक्तव्य दिँदै देशमा “नयाँ राजनीतिक ध्रुव” निर्माणको घोषणा गरेका छन्।
कार्यक्रममा सभापति, प्रमुख अतिथि तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा अध्यक्षले देश आज पनि न्याय, समानता, स्वतन्त्रता र समृद्धिको खोजीमा गोलचक्करमै फस्टिरहेको बताउँदै, विशेष गरी परिवर्तनको अग्रपंक्तिमा उभिएको युवा पुस्ताले अपेक्षित परिवर्तन अनुभूत गर्न नसकेको टिप्पणी गरे।
अध्यक्षका अनुसार, पटक–पटकका आन्दोलनहरूले सहादतको संख्या बढाए पनि “शहीदका सपनाहरू फेरि–फेरि भ्रष्ट चरित्रसँग साटिनु” आजको सबैभन्दा ठूलो विडम्बना हो। हालैको Gen-Z आन्दोलनले कुशासनको स्वरूप केही हदसम्म हल्लाए पनि “जरो उखेल्ने निर्णायक परिवर्तन” अझै पूरा हुन बाँकी रहेको उल्लेख गरे।
“अन्याय, अत्याचार, विभेद र भ्रष्टाचार आज पनि निर्बाध रूपमै जारी छ,” अध्यक्षले भने, “अब एक इमानदार, बलियो र दूरदर्शी राजनीतिक प्रतिबद्धता अपरिहार्य भइसकेको छ।”
उनले दशकभन्दा बढी समय पार्टीले एकल रूपमा संघर्ष गर्दै आएको स्मरण गरे तर साँचो परिवर्तनका लागि अब एउटा व्यापक र बलियो एकीकृत राजनीतिक शक्ति आवश्यक भएको समयले सिकाएको निष्कर्ष सुनाए।
वक्तव्यमा अध्यक्षले नयाँ–पुराना वैकल्पिक तथा ससाना दलहरुलाई एउटै मोर्चामा उभ्याउने प्रयास चलिरहे पनि वर्तमान परिस्थितिमा नेपाली कम्युनिस्ट पार्टीको मूल प्रवाहसँग एकाकार भएर अघि बढ्नु नै उपयुक्त निर्णय भएको स्पष्ट गरे। साथै विभिन्न स्वरूपमा छरिएका वैकल्पिक राजनीतिक धाराहरूलाई पनि यही प्रवाहमा एकीकृत हुन आह्वान गरे।
अध्यक्षले “भड्किलो भाषणले नेता बनाउने पुरानो संस्कार” अन्त्य हुनुपर्ने बताउँदै, देशलाई सिद्धान्त मात्र होइन, कर्तव्यनिष्ठ, कर्मठ र सिर्जनशील नेतृत्व आवश्यक भएको जिकिर गरे।
जनजागरण पार्टीका सहकर्मीहरूले अबको यात्रामा पीडित, प्रताडित र उपेक्षित वर्गको हितमा निरन्तर समर्पित रहने प्रतिवद्धता वक्तव्यमार्फत व्यक्त गरिएको थियो।
“सुन्दर, शान्त र समृद्ध नेपाल निर्माण हाम्रो साझा लक्ष्य हो,” अध्यक्षले भने, “यो नयाँ अभियानमा जनताको न्यानो समर्थन र मार्गदर्शनले नै हाम्रो यात्रालाई अपराजयी बनाउनेछ।”
कार्यक्रम अन्त्यमा अध्यक्ष Dr. BP Khanal ले उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै नयाँ एकीकृत राजनीतिक यात्रामा निरन्तर साथको अपेक्षा व्यक्त गरे।